
काठमाडौँ, फागुन – काठमाडौँको चाबाहिलस्थित लाइसियम मोडल स्कुलले पाठ्यक्रमसँग सम्बन्धित व्यापक शैक्षिक प्रदर्शनी (Educational Exhibition) भव्य आयोजनासहित सम्पन्न गरेको छ । विद्यार्थीहरूले आफ्नो सिकाइ, सिर्जनशीलता र व्यावहारिक ज्ञान प्रदर्शनीमार्फत प्रस्तुत गरे ।

प्रदर्शनीमा कला, हस्तकला, विज्ञान, प्रविधि, धार्मिक–सांस्कृतिक तथा पर्यटन प्रतिनिधित्वहरू समावेश गरिए । विद्यार्थीहरूद्वारा निर्मित हाइड्रोलिक गेट सेन्सरयुक्त कारदेखि पानीबाट चल्ने गाडी र अन्य नवीन आविष्कारहरू प्रदर्शनीका आकर्षण बनेका थिए । शैक्षिक कार्यक्रममा गाउँदेखि शहरसम्म, परम्परा देखि आधुनिकता, तथा नेपालको विविध महत्त्वलाई जीवन्त रूपले प्रस्तुत गरिएको थियो।

विद्यालयका संस्थापक प्रधानाध्यापक राजेन्द्र थपलियाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “कोरा किताबको मात्र ज्ञानले पूर्ण शिक्षण सम्भव छैन; व्यावहारिक ज्ञानले मात्र विद्यार्थीलाई सक्षम बनाउँछ । हामीले यहाँ प्रस्तुत गरिएका प्रोजेक्टहरू मार्फत त्यसैको उदाहरण पस्किएका छौं ।” उनले थपे कि विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ठूलो सफलता हासिल गरिरहेको छ ।

कार्यक्रम अवधिमा लायन्स क्लब अफ काठमाडौँ, चाबाहिल को सहकार्यमा निःशुल्क आँखा जाँच, दन्त परीक्षण र मधुमेह जाँच लगायतका स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो । प्रदर्शनी हेर्न आएका अभिभावकहरू आफ्ना बच्चाहरूको व्यावहारिक सिप र सिर्जनशीलता देखेर अत्यन्त हर्षित र गर्वित देखिएका थिए ।

अभिभावकहरूले बताएअनुसार, “लाइसेियम मोडल स्कुल व्यावहारिक ज्ञान, दक्ष शिक्षक र बालमैत्री वातावरण मार्फत आफ्ना विद्यार्थीलाई उत्कृष्ट भविष्यका लागि तयार पार्न समर्पित छ ।” विद्यार्थीहरू पनि आफ्नो सीप–दक्षता प्रदर्शनमा अत्यन्त उत्साहित र खुशी देखिएका थिए ।

शिक्षण क्रियाकलाप, सिर्जनशीलता, र व्यावहारिक शिक्षाले सम्पन्न भएको यो प्रदर्शनी विद्यालयका सबै पक्षलाई समेट्ने उत्कृष्ट शैक्षिक आयोजनाको उदाहरण भएको स्थानीय शैक्षिक स्रोतहरूले विश्लेषण गरेका छन् ।


