
काठमाडौं। नेपालको शैक्षिक इतिहासमा विशिष्ट पहिचान बनाउँदै आएको Laboratory School ले अभिभावक दिवस बौद्धिक, सांस्कृतिक तथा संस्थागत गरिमाका साथ सम्पन्न गरेको छ। विद्यालयका गुठियार डा. बालगोपाल बैद्धको सभापतित्व तथा गुठियार रोहिणी थपलियाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउने साझा मञ्चका रूपमा कार्य गरेको सहभागीहरूको भनाइ थियो।

शैक्षिक दर्शन र सहकार्यको आधार विद्यालयका प्रिन्सिपल डा. लाक्पा शेर्पाले अभिभावक दिवस केवल औपचारिक कार्यक्रम नभई शैक्षिक साझेदारीको सुदृढ आधार भएको उल्लेख गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य, अनुसन्धानमुखी सोच तथा अतिरिक्त क्रियाकलापबीच सन्तुलन कायम गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो। “विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्य नै गुणस्तरीय शिक्षाको मेरुदण्ड हो,” उहाँले भन्नुभयो, “शैक्षिक रूपान्तरण साझा दृष्टिकोण र निरन्तर संवादबाट सम्भव हुन्छ।”

कीर्तिपुर नगरपालिका शिक्षा विभाग प्रमुख बिमल प्रसाद निरौलाले स्थानीय तह शिक्षा सुधारप्रति गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यालय–अभिभावक–स्थानीय सरकारबीच समन्वयात्मक सम्बन्ध अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। प्रमुख अतिथि रोहिणी थपलियाले विद्यालयले परम्परा र आधुनिक शिक्षाको सन्तुलित अभ्यास गर्दै नयाँ पुस्तालाई प्रतिस्पर्धी र जिम्मेवार नागरिकका रूपमा तयार पारिरहेको बताउनुभयो। उहाँले अभिभावकको सक्रिय संलग्नताले शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

रूपान्तरणको यात्रा : चुनौतीदेखि उत्कृष्टतासम्म करिब १०९ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयले पछिल्लो दुई दशकमा उल्लेखनीय शैक्षिक रूपान्तरणको यात्रा तय गरेको छ। वि.सं. २०६२ सालदेखि डा. लाक्पा शेर्पाले नेतृत्व सम्हालेपछि विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर तथा संस्थागत सुदृढीकरणमा व्यापक सुधार आएको बताइन्छ। एक समय विद्यार्थी संख्या न्यून भई सञ्चालनमै चुनौती देखिएको अवस्था थियो। तर दूरदर्शी नेतृत्व, स्पष्ट रणनीति र परिणाममुखी कार्ययोजनाका कारण आज भर्ना अवधिमा थेगिनसक्नु चाप देखिने अवस्था सिर्जना भएको छ। सही सोच, प्रतिबद्ध प्रयास र संस्थागत अनुशासनले शैक्षिक सफलता सम्भव हुन्छ भन्ने उदाहरणका रूपमा विद्यालय स्थापित भएको छ।

समावेशी शिक्षा र बहुआयामिक उपलब्धि विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै ‘ब्लाइन्ड सेक्सन’ सञ्चालनमा रहेको छ, जसले समावेशी शिक्षाको व्यवहारिक अभ्यास प्रस्तुत गर्दछ। यहाँ अध्ययन गरेका दृष्टिविहीन विद्यार्थीहरू विभिन्न सरकारी सेवा तथा अन्य पेशागत क्षेत्रमा स्थापित हुन सफल भएका छन्, जुन विद्यालयको शैक्षिक प्रतिबद्धताको प्रमाण मानिन्छ। शिक्षाका अतिरिक्त खेलकुद, संगीत र सांस्कृतिक गतिविधिमा समेत विद्यालय अग्रपंक्तिमा रहँदै आएको छ। वार्षिक कार्यक्रममा विद्यार्थीहरूले नेपाली समाजका विविध सांस्कृतिक आयाम झल्किने नृत्य, गायन, नाटक तथा प्रहसन प्रस्तुत गरी कार्यक्रमलाई बौद्धिक र मनोरञ्जनात्मक दुवै बनाएका थिए। प्रस्तुतिहरूले सिर्जनशीलता, अनुसन्धानात्मक सोच र सामाजिक सन्देशलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेका थिए।

बौद्धिक, सन्देशमूलक र आकर्षक वार्षिक उत्सव यस वर्षको अभिभावक दिवस तथा वार्षिक कार्यक्रम केवल सांस्कृतिक उत्सवमा सीमित नभई विद्यालयको शैक्षिक उपलब्धि, व्यवस्थापकीय क्षमता, समावेशी अभ्यास र दीर्घकालीन दृष्टिकोणको प्रतिबिम्बका रूपमा देखिएको छ। विद्यार्थीहरूको आत्मविश्वास, अभिभावकहरूको विश्वास तथा विद्यालय प्रशासनको संगठित प्रयासले कार्यक्रमलाई गरिमामय र प्रभावकारी बनाएको छ। समग्रमा, Laboratory Schoolले गुणस्तरीय, समावेशी र रूपान्तरणमुखी शिक्षाको अभ्यासमार्फत आफूलाई नेपालको एक विशिष्ट तथा उदाहरणीय शैक्षिक संस्थाका रूपमा पुनः प्रमाणित गरेको छ।


