
कीर्तिपुर — नेपाली मौलिकता, संस्कार र राष्ट्रिय पहिचानलाई आत्मसात् गर्दै कीर्तिपुरस्थित ग्रीन भिलेज एजुकेसन फाउन्डेसन ले आफ्नो नाम परिवर्तन गरी काव्यम् पाठशाला राखेको छ। नाम परिवर्तनसँगै विद्यालयले वार्षिक खेलकुद महोत्सव–२०८२ को भव्य उद्घाटन समारोह २३ गते विद्यालय परिसरमा आयोजना गरेको हो।
विद्यालयका संस्थापक तथा प्रधानाध्यापक रवि भण्डारी ले बेलुन उडाएर विद्यालयको नाम परिवर्तन र खेलकुद महोत्सवको संयुक्त रूपमा औपचारिक उद्घाटन गर्नुभएको थियो।

एक हप्तासम्म सञ्चालन हुने खेलकुद महोत्सवमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई लक्षित गरी आउटडोर र इन्डोर दुवै विधाका खेलहरू समावेश गरिएको छ। प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, खो–खो, चेस, टेबल टेनिस, रिले दौड, टग अफ वारलगायतका विभिन्न खेलहरू खेलाइने विद्यालयले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानाध्यापक भण्डारीले स्वस्थ जीवनका लागि खेलकुदको महत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
“आजको समयमा किताबी ज्ञान मात्र बालबालिकाको भविष्यको आधार हुन सक्दैन। शारीरिक, मानसिक र नैतिक विकासका लागि खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिन आवश्यक छ,” उहाँले भन्नुभयो।

दुलहीझैँ सुसज्जित विद्यालय परिसरमा आयोजित कार्यक्रममा मार्चपाससँगै विद्यार्थीहरूले नेपाली संस्कृति र पहिचान झल्किने विभिन्न आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप जीवन्त र प्रभावशाली बनाएको थियो।

वि.सं. २०६५ सालमा कीर्तिपुरमा स्थापना भएको काव्यम् पाठशालाले कीर्तिपुर मात्र नभई समग्र देशको शैक्षिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। प्रविधिमैत्री, संस्कारयुक्त र प्रतिस्पर्धात्मक शिक्षण प्रणालीमार्फत विद्यालयले आफूलाई गुणस्तरीय शैक्षिक संस्थाको रूपमा स्थापित गरिसकेको छ।

विद्यालयले ज्ञान, कला, मूल्य र सिर्जनशीलतालाई केन्द्रमा राख्दै आधुनिक प्रविधिसँग जोडिएको शिक्षा प्रदान गर्दै आएको जनाएको छ। विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूको लक्ष्य र रुचिअनुसार ज्ञान तथा सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयको दाबी छ।

प्रधानाध्यापक भण्डारीका अनुसार अभिभावकको सपना साकार पार्ने, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने तथा राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित काव्यम् पाठशाला निरन्तर अघि बढिरहेको छ।
विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय, मूल्यपरक र नवप्रवर्तनयुक्त शिक्षामार्फत शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।


