

काठमाडौं — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिले विद्यालय शिक्षामा सिकाइको गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै गणित शिक्षालाई थप प्रभावकारी, व्यावहारिक र विद्यार्थीमैत्री बनाउने दिशामा महत्वपूर्ण पहल गरेको छ। यसै क्रममा प्याब्सन र विश्वप्रसिद्ध कुमन म्याथमेटिक्सबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
प्याब्सनअन्तर्गतका विद्यालयहरूमा कुमन म्याथमेटिक्स कार्यक्रम विस्तार गरी विद्यार्थीहरूको गणितीय क्षमता, तार्किक सोच, आत्मविश्वास तथा समस्या समाधान गर्ने सीप विकास गर्ने उद्देश्यसहित भएको यो सहकार्यलाई निजी शिक्षा क्षेत्रमा गुणस्तरीय सिकाइको नयाँ अध्यायका रूपमा हेरिएको छ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्याब्सन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले गणितलाई विद्यार्थीका लागि कठिन र त्रासपूर्ण विषयका रूपमा होइन, नियमित अभ्यास, सही विधि र आत्मविश्वासमार्फत सहज रूपमा सिक्न सकिने विषय बनाउन यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा कुमनका अध्यक्ष गणेश लामाले जापानबाट विकास भएको विश्वप्रसिद्ध कुमन शिक्षा प्रणालीले नेपालप्रति देखाएको विश्वास र नेपालमा यसको विस्तार हुँदै गएको विषयमा चर्चा गर्नुभयो। कुमनका प्रबन्ध निर्देशकले कुमन म्याथमेटिक्सको शिक्षण विधि, विद्यार्थीको व्यक्तिगत सिकाइ गति अनुसार अघि बढ्ने प्रणाली तथा विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सकिने प्रक्रियाबारे जानकारी दिनुभएको थियो।
प्याब्सन केन्द्रीय समितिले विगतदेखि नै भौतिक संरचना र परीक्षाको नतिजामा मात्र सीमित नभई विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक कार्यक्रम अघि बढाउँदै आएको छ। गणित शिक्षाको गुणस्तर सुधारका लागि कुमनसँगको सहकार्य पनि सोही अभियानको महत्वपूर्ण कडी भएको प्याब्सनको भनाइ छ।
प्याब्सनका अध्यक्षले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई अझ सशक्त बनाउँदै आगामी दिनमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले निजी शिक्षा क्षेत्रले विद्यार्थीको सिकाइ, सीप र भविष्य निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नवीनतम शैक्षिक अभ्यासलाई विद्यालय तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समझदारीपछि प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूमा कुमन कार्यक्रमलाई व्यवस्थित रूपमा विस्तार गर्दै गणित शिक्षालाई अझ प्रभावकारी बनाउने, विद्यार्थीको सिकाइ उपलब्धि बढाउने र अन्तर्राष्ट्रिय स्तरका सफल शैक्षिक अभ्यासलाई नेपाली विद्यालयसम्म पुर्याउने दिशामा काम गर्ने जनाएको छ।
“गणितलाई कठिन विषय होइन, अभ्यास, आत्मविश्वास र सफलताको विषय बनाउने” लक्ष्यका साथ अघि बढेको यो सहकार्यले नेपाली विद्यार्थीको गणितीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर नयाँ अभ्यास र सहकार्यमा जोड दिँदै आएको प्याब्सन केन्द्रीय समितिको यो कदमले एउटा स्पष्ट सन्देश दिएको छ—अब विद्यालयको पहिचान केवल पढाउने संस्थाका रूपमा होइन, विद्यार्थीलाई वास्तविक रूपमा सिकाउने र सक्षम बनाउने संस्थाका रूपमा स्थापित हुनुपर्छ।
प्याब्सन र कुमनबीचको यो सहकार्य त्यसै दिशामा अघि बढेको एउटा महत्वपूर्ण सुरुवात हो, जसले नेपाली विद्यालय शिक्षामा गणित सिकाइलाई थप सहज, व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

