काठमाडौं । Organization of Private Schools (OPS) द्वारा आयोजित आठौँ OPS खेलकुद महोत्सव–२०८२ विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी पौष २४ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। योजनाबद्ध र व्यवस्थित रूपमा आयोजना हुन लागेको यस महोत्सवलाई OPS ले शैक्षिक प्रक्रियासँग जोडिएको एक महत्वपूर्ण सिकाइ अभ्यासका रूपमा प्रस्तुत गरेको छ।

बाल मनोविज्ञानको दृष्टिले खेलकुद बालबालिकाको आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सामाजिक सीप विकासको प्रभावकारी माध्यम भएको OPS को ठहर छ। यही मान्यताअनुसार यस महोत्सवमार्फत विद्यार्थीहरूलाई प्रतिस्पर्धा, सहकार्य र खेलभावनाको व्यवहारिक अभ्यास गराउने लक्ष्य लिइएको छ।
महोत्सवअन्तर्गत एथलेटिक्स (ट्र्याक एन्ड फिल्ड), फुटसल, भलिबल र ब्याडमिन्टन विधामा छात्रा तथा छात्र दुवैबीच प्रतिस्पर्धा हुनेछ। ट्र्याक एन्ड फिल्डका प्रतियोगिता APF खेलमैदान, हल्चोक मा आयोजना हुनेछन् भने अन्य खेलहरू सम्बन्धित विद्यालयहरूको समन्वयमा सञ्चालन गरिनेछ।
यस खेलकुद महोत्सवमा २० सदस्य विद्यालय सहभागी हुनेछन्। विजयी विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र र उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।
“Together We Compete, Together We Grow” भन्ने नारासहित आयोजना हुने आठौँ OPS खेलकुद महोत्सवले विद्यार्थीहरूमा खेलकुदप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै विद्यालयहरूबीच आपसी सहकार्य र एकता मजबुत बनाउने विश्वास लिइएको छ। OPS ले सम्पूर्ण पत्रकार मित्रहरूलाई कार्यक्रम स्थलमा उपस्थित भई विद्यार्थीहरूको प्रतिभा, अनुशासन र खेलभावनालाई उजागर गर्ने वस्तुनिष्ठ र सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।



