गण्डकी पब्लिक बोर्डिङ स्कुलमा वार्षिक खेलकुद सप्ताह सुरु

माघ १३ – काठमाडौँ महानगरपालिका–२६, म्हेपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलमा वार्षिक खेलकुद सप्ताह २०८२ उत्साहका साथ सुरु भएको छ।

बुधबार विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच खेलकुद कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रमको सुरुवात विद्यार्थी स्काउट टोलीको आकर्षक मार्चपासबाट गरिएको थियो भने राष्ट्रिय झण्डोत्तोलन र रंगीन बेलुन उडाएर खेलकुद सप्ताहको प्रारम्भ घोषणा गरिएको विद्यालय प्रशासनले जनाएको छ।

उद्घाटन समारोहमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपल आरसी भट्टका अनुसार खेलकुद सप्ताहमा करिब ६०० देखि ७०० विद्यार्थी प्रत्यक्ष रूपमा सहभागी हुनेछन्।

प्रतियोगिताअन्तर्गत फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, चेस र टग अफ वार जस्ता टोलीगत तथा व्यक्तिगत खेलहरू समावेश छन्। त्यस्तै साना कक्षाका विद्यार्थीहरूका लागि स्किपिङ, म्युजिकल चेयर, हट पोटेटो र स्पुन रेसजस्ता रमाइला तथा सहभागितामूलक खेलहरू पनि सञ्चालन गरिनेछन्। एथलेटिक्सका विभिन्न विधामा पनि प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ। प्रिन्सिपल भट्टले खेलकुदले विद्यार्थीको शारीरिक सुदृढीकरण मात्र नभई मानसिक सन्तुलन र बौद्धिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँका अनुसार नियमित खेल गतिविधिले एकाग्रता, अनुशासन, सहकार्यको भावना र नेतृत्व क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याउँछ। स्वस्थ शरीरले सिकाइ प्रक्रियालाई सहज बनाउने भएकाले विद्यालयले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अङ्गका रूपमा अघि बढाउँदै आएको उहाँको भनाइ छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर सहभागी हुनुहुन्थ्यो। साथै राष्ट्रिय खेलाडी जेनिफर र सिद्धान्त रानामगरको उपस्थितिले विद्यार्थीहरूलाई थप प्रेरणा दिएको विद्यालयले जनाएको छ। विद्यालयका कार्यकारी निर्देशक दोर्णबहादुर अधिकारी तथा व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद अर्यालले पनि खेलकुद गतिविधिले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

चार दिनसम्म सञ्चालन हुने खेलकुद सप्ताहले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई सन्तुलित रूपमा अघि बढाउने विद्यालयको नीतिलाई प्रतिबिम्बित गरेको छ। विद्यालयले विगतमा समेत राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको उल्लेख गर्दै व्यवस्थापन पक्षले भविष्यमा खेलकुद पूर्वाधारलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

Tags :

Share It:

Grid News

Latest Post

सूचना विभाग दर्ता नं.: २०८/०८०-८१
संपादक–इन–चीफ: डा. निर्मल थापा
अध्यक्ष: रीता मानन्धर
प्रबन्ध सम्पादक: अर्जुन श्रेष्ठ

सम्पर्क:
ठेगाना: श्रीनगर रोड, बखुन्डोलै, ललितपुर
फोन: ०१-५५२२४४४, ०१-५५२२२७७
इमेल: info@nepalicnnmedia.com, editorial@nepalicnnmedia.com, ads@nepalicnnmedia.com

© 2025 Copyright Nepali CNN Media | All rights reserved.

Website Built By AERPN

architectural photography of Coca-Cola tarpaulin