कालिकोट | महावै गाउँपालिका वडा नं. १ स्थित जगन्नाथ आधारभूत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी टोपबहादुर शाहीले सम्हाल्नुभएको छ।

विद्यालय व्यवस्थापन समिति (विव्यस), वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, अभिभावक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्दै उहाँले करिब १८ वर्षदेखि शिक्षण पेशामा सक्रिय रहँदै आएको अनुभव साझा गर्नुभयो। सो क्रममा उहाँले कालिकोट जिल्लाको शैक्षिक सुधारका लागि निरन्तर योगदान दिँदै आएको बताउनुभयो।
शिक्षण यात्राकै क्रममा तिलागुफा नगरपालिका अन्तर्गत महादेव माध्यमिक विद्यालय, रूडुमा पहिलो पटक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको उहाँको भनाइ छ। नमुना विद्यालय बनाउने प्रयासकै बीच सरुवा भई आफ्नै गाउँको विद्यालयमा आउनुपरेको पनि उहाँले स्मरण गर्नुभयो।
हाल करिब चार वर्षदेखि जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत रहनुभएका शाही महावै गाउँपालिका तथा विव्यसको निर्णयअनुसार छ महिनाका लागि देव आधारभूत विद्यालय, ओदामा काज सरुवा भई सेवा दिनुभएको थियो। त्यहाँ देखाएको अनुशासन र लगनशीलताको कदर गर्दै पालिकाले काज फिर्ता गरी पुनः जिम्मेवारीसहित हाजिर गराएको उहाँले जानकारी दिनुभयो।
विव्यसको बैठकबाट औपचारिक रूपमा प्रधानाध्यापकको जिम्मेवारी पाएपछि उहाँले आफू शिक्षक भएकाले जहाँ जुन जिम्मेवारी दिइए पनि इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पदभार सम्हाल्दै प्रधानाध्यापक शाहीले विद्यालयको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील रहने र नेपाल सरकारले प्रधानाध्यापकको जिम्मेवारीबापत प्रदान गर्ने १०० प्रतिशत सुविधा तथा भत्ता नलिने घोषणा गर्नुभएको छ। उक्त रकम विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न परिवारका बालबालिकाको सहयोग र शैक्षिक सुधार कार्यक्रममै खर्च गरिने उहाँले बताउनुभयो।
उहाँको यो कदम विद्यालय सुधारका लागि स्पष्ट सोच, इच्छाशक्ति र नेतृत्व क्षमता आवश्यक हुन्छ भन्ने कुराको उदाहरणका रूपमा हेरिएको छ।

