
काठमाडौको टोखामा अवस्थित ग्रीनल्याण्ड सेकेन्डरी स्कुलले आफ्नो ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अत्यन्त भव्य, सन्देशमूलक तथा सिर्जनात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालयका संस्थापक–प्रिन्सिपल थाकिन कुमार गुरुङको सभापतित्व तथा केएमसी नेटवर्कका संस्थापक सदस्य एवं प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष किशोर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा शिक्षाविद्, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि किशोर गौतम र सभापति थाकिन कुमार गुरुङले पानसमा बत्ती बालेर गरेका थिए। विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सभाहल अभिभावक र पाहुनाले खचाखच भरिएको थियो भने विद्यार्थीहरूको उत्साह र सिर्जनशीलता कार्यक्रमभर झल्किएको देखिन्थ्यो।

कार्यक्रमको सुरुआतमै विद्यालयले समाजमा योगदान पुर्याउँदै आएका चार जना ज्येष्ठ अभिभावकलाई सम्मान गर्दै अभिभावक दिवसको वास्तविक मर्मलाई व्यवहारमै उतारेको थियो। साथै “जहाँ शिक्षकको सम्मान हुन्छ, त्यहाँ गुणस्तरको वृद्धि हुन्छ” भन्ने मूल्यमान्यतालाई आत्मसात गर्दै विद्यालयले सम्पूर्ण शिक्षकहरूलाई सम्मान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेको थियो।
कार्यक्रममा ईसीडीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक, सिर्जनात्मक तथा बौद्धिक प्रस्तुति दिएका थिए। नृत्य, नाटक, गीत, वक्तृत्व, नाट्य प्रस्तुति तथा सामाजिक सन्देश बोकेका विविध कार्यक्रमहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए। प्रत्येक प्रस्तुति केवल मनोरञ्जनमा सीमित नभई समाज, नैतिकता, जिम्मेवारी र सकारात्मक परिवर्तनको सन्देश बोकेका थिए।

कार्यक्रमको विशेष पक्ष भनेको विद्यार्थीहरूले समसामयिक सामाजिक तथा राजनीतिक घटनाक्रमलाई समेत आफ्नो प्रस्तुतीमा समेट्नु थियो। गत भदौ २३ र २४ मा भएको ‘जेन्जी आन्दोलन’को प्रभाव, फागुन २१ को निर्वाचन तथा त्यसपछिका राजनीतिक परिस्थितिबारे विद्यार्थीहरूले सिर्जनात्मक र सन्देशमूलक प्रस्तुति दिएका थिए। पुराना राजनीतिक दललाई आत्मसमीक्षा गर्न सुझाव र नयाँ दललाई जिम्मेवार विकल्प बन्न आग्रह गर्ने सन्देश विद्यार्थीहरूले कलात्मक ढंगबाट प्रस्तुत गरेका थिए।
जेन्जी आन्दोलनका क्रममा भएको दुःखद घटनालाई नाटकमार्फत प्रस्तुत गर्दा उपस्थित दर्शक भावुक बनेका थिए। विद्यार्थीहरूको अभिनय, प्रस्तुति र संवेदनशीलता देखेर धेरै अभिभावकका आँखा रसाएका दृश्यहरू स्पष्ट देखिन्थे।
कार्यक्रममा विद्यार्थीहरूले आफैंले बनाएका चित्रकलाको प्रदर्शनीसमेत राखिएको थियो। चित्रकलाको छुट्टै स्टल राखेर अभिभावकहरूलाई खरिद गर्ने अवसर प्रदान गरिएको थियो। यसका साथै फेस पेन्टिङ लगायतका सिर्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

प्रमुख अतिथि किशोर गौतमले कार्यक्रममा बोल्दै एक विद्यार्थी सफल बन्न विद्यालय, शिक्षक र अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले अबको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई जीवन उपयोगी, व्यावहारिक तथा सीपमूलक हुनुपर्नेमा जोड दिए। ग्रीनल्याण्ड स्कुलले अवलम्बन गरेको शिक्षण पद्धति, व्यावहारिक सिकाइ र विद्यार्थीमैत्री वातावरणको उनले मुक्तकण्ठले प्रशंसा गरे।
विद्यालयका संस्थापक–प्रिन्सिपल थाकिन कुमार गुरुङले ग्रीनल्याण्ड सेकेन्डरी स्कुल आधुनिक, प्रविधिमैत्री तथा व्यावहारिक शिक्षामा विश्वास गर्ने विद्यालय भएको बताए। उनका अनुसार विद्यालयले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै ज्ञान, सीप, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी विकास गर्ने वातावरण सिर्जना गरेको छ।

उनले भने, “सामान्य दैनिक जीवनदेखि समृद्ध राष्ट्र निर्माणसम्मका विचार, योजना र समाधान विद्यार्थीहरूले यही मञ्चबाट प्रस्तुत गर्न सक्नु उत्कृष्ट विद्यालयको पहिचान हो। त्यो पहिचान ग्रीनल्याण्डले ३१ वर्षको यात्रामा स्थापित गरिसकेको छ।”
कार्यक्रम लामो समयसम्म चले पनि प्रस्तुति विविध, सिर्जनात्मक र सन्देशमूलक भएकाले अन्तिमसम्म अभिभावकहरू उत्साहपूर्वक बसेका थिए। आफ्ना छोराछोरीको प्रतिभा हजारौँ दर्शकसामु प्रस्तुत भएको देख्दा अभिभावकहरू गर्व र खुशीले भावुक बनेका थिए।
३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमले ग्रीनल्याण्ड सेकेन्डरी स्कुल केवल एक शैक्षिक संस्था मात्र नभई समाज रूपान्तरण, चेतना विस्तार तथा भविष्यका सक्षम नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित भइसकेको सन्देश दिएको छ।
गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, प्रविधिमैत्री सिकाइ, व्यावहारिक शिक्षा, विद्यार्थीमैत्री नीति तथा आधुनिक समयका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित ग्रीनल्याण्ड सेकेन्डरी स्कुल नेपाली शिक्षा क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा उभिएको देखिन्छ।